बारा, २४ वैशाख । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा झण्डै एक सातादेखि ठप्प रहेको जाँचपास प्रक्रिया पुनः सुचारु भएको छ।
आयातित वस्तुहरूमा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी कार्यान्वयन गर्ने सरकारी नीतिका कारण वैशाख १५ गतेदेखि रोकिएको यो प्रक्रिया आयातकर्ता र भन्सार प्रशासनबीचको मध्यमार्गी सहमतिपछि बुधबारदेखि सञ्चालनमा आएको हो।
सहमति अनुसार आयातकर्ताहरूले भन्सार विन्दुमा वस्तुको एमआरपी आफैँ घोषणा गर्नुपर्नेछ भने सामान आफ्नै गोदाममा पुर्याएपछि मात्र अनिवार्य रूपमा एमआरपी लेबल टाँसेर बजार पठाउनु पर्ने छ। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार आयातकर्ताहरू प्रक्रियामा सहभागी नहुँदा जाँचपास रोकिए पनि अहिले कबुलियत गराएर काम अघि बढाइएको छ। बुधबार मात्रै करिब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यद्यपि, यो समाधान पूर्ण भने देखिएको छैन। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले अहिलेको व्यवस्थालाई अस्थायी समाधान मात्र भएको टिप्पणी गरेका छन्।
उनका अनुसार व्यवसायीहरूले एमआरपीको व्यावहारिक कार्यान्वयनका लागि स्थायी नीतिगत स्पष्टता खोजिरहेका छन्। जाँचपास सुचारु भएसँगै भारतीय सीमावर्ती क्षेत्र रक्सौलमा रोकिएका मालवाहक सवारी साधनहरूको चाप बिस्तारै कम हुने अपेक्षा गरिएको छ।





