बारा, १८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै चार अर्ब दुई करोड मूल्यभन्दा बढीका १५ हजार २७१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्यको आधारमा रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतको ठूलो वृद्धि हो। गत वर्ष सोही अवधिमा रु एक अर्ब ६५ करोड मूल्यका नौ हजार ४२ वटा मात्र विद्युतीय सवारीसाधन भित्रिएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जीप, भ्यान र विद्युतीय मोटरसाइकल/स्कुटरको आयातमा उच्च वृद्धि भएको छ, जसका कारण भन्सार राजस्व सङ्कलनमा समेत उल्लेख्य सुधार आएको छ। यसैगरी, सोही अवधिमा वीरगञ्ज नाकाबाट इन्धन र विद्युत् दुवैबाट चल्ने सवारीसाधन तथा तिनका पार्टपुर्जाहरूको कुल आयात पनि ४४ दशमलव ५८ प्रतिशतले बढेर रु ३१ अर्ब ३१ करोड पुगेको छ।
यस अन्तर्गत रु सात अर्ब ३२ करोड मूल्य बराबरका ५१ हजारभन्दा बढी अन एसेम्बल्ड मोटरसाइकल समेत भित्रिएका छन्। यसबाट राज्यले ७ अर्ब ९ करोड राजस्व सङ्कलन गरेको छ। समग्रमा, परम्परागत इन्धन गाडीको तुलनामा विद्युतीय सवारीसाधनतर्फ नेपाली बजारको आकर्षण तीव्र गतिमा बढिरहेको तथ्याङ्कले देखाउँछ।




