बारा, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका पालिका तथा क्षेत्रीय समितिहरूले जिल्लामा यथाशीघ्र जिल्ला अधिवेशन सम्पन्न गर्न माग गर्दै पार्टीको केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
पार्टीका महामन्त्री विपिन आचार्य र संसदीय दलका उपनेता माननीय गणेश पराजुलीलाई संयुक्त रूपमा ज्ञापनपत्र हस्तान्तरण गर्दै बाराका स्थानीय तथा क्षेत्रीय प्रतिनिधिहरूले संगठन विस्तारसँगै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्।
ज्ञापनपत्रमा पार्टीको विधानअनुसार तल्लो तहका आम कार्यकर्ताको भावना र जनादेशको कदर गर्दै तत्काल निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्न आग्रह गरिएको छ।
प्रतिनिधिहरूले खुला र पारदर्शी प्रतिस्पर्धात्मक अधिवेशनले मात्रै स्थानीय तहमा पार्टीलाई थप अनुशासित, मर्यादित र सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
जिल्ला अधिवेशनमा ढिलाइ हुँदा स्थानीय तहमा संगठन निर्माण र परिचालनमा समेत अन्योल सिर्जना हुने भएकाले केन्द्रीय नेतृत्वले यस विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल अधिवेशनको मिति तोक्नुपर्ने उनीहरूको जोड छ।






