Sunday, October 18, 2026

बडादसैँले सत्यको बाटोमा हिँड्ने प्रेरणा मिलोस् : प्रधानमन्त्री

Advertisement
Advertisement

बारा, ३१ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले दसैँ एकता, आत्मीयता र सामाजिक सद्भावको सङ्गमका रूपमा रहेको बताएका छन्। मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद थाप्ने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक संस्कृतिलाई प्रतिविम्बित गर्ने धारणा उनले व्यक्त गरेका छन्।

विभिन्न विषम र सङ्कटपूर्ण स्थितिहरूमा पनि नेपालीहरूले आफ्नो धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता जोगाउँदै आएको चर्चा गर्दै उनले हालै रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका प्रलयकारी विनाशमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, प्रभावित र विस्थापित नागरिकहरूको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको जानकारी पनि उनले दिएका छन्।

दसैँ असत्यमाथि सत्यको र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीक भएको उल्लेख गर्दै उनले हरेक नागरिकलाई सत्यको बाटोमा हिँड्ने प्रेरणा मिलोस् भन्ने शुभभाव व्यक्त गरेका छन्। मानव दुःखका कारण मानिने काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्दै आफूभित्रको महिषासुर र रावणलाई परास्त गर्नुपर्नेमा उनले जोड दिएका छन्।

यसैगरी, वैदेशिक रोजगारीका कारण गाउँघर उजाडिँदै गएको र परदेशमा रहेका नेपालीहरूले दसैँमा घर फर्कन नपाउने तीतो यथार्थलाई बदल्न सरकार समृद्धिको बाटोमा अघि बढिरहेको आश्वासन उनले दिएका छन्। उनले आर्थिक सम्पन्नता र सुशासनले मात्र चाडपर्वको रौनक बढाउने भन्दै दसैँ कसैका लागि पनि आर्थिक बोझ बन्न नहुनेमा सरकार सजग रहेको स्पष्ट पारेका छन्।

दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उनले सम्पूर्ण देशवासीलाई सभ्य र भव्य रूपमा दसैँ मनाउन आह्वान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर