बारा, ३१ असोज । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ।
अल अमरेत क्रिकेट ग्राउन्डमा क्यानडाले प्रस्तुत गरेको २५७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ ओभरमा २३२ रन बनाउँदै अलआउट हुन पुग्यो।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रनको अर्धशतकीय पारी खेलेका थिए भने अन्त्यतिर करण केसीले आक्रामक प्रयास गरे पनि २४ बल अगावै टोली अलआउट हुन पुग्दा जित सम्भव भएन।
सिरिजका सुरुआती दुवै खेल जितेर लयमा फर्किएको नेपाललाई यो हारले लिग-२ को तालिकामा ठूलो धक्का पुर्याएको छ। अंकतालिकामा नेपाललाई पछि पार्दै क्यानडा २९ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ भने नेपाल सातौं स्थानमा झरेको छ।
लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने भएकाले अब नेपालका लागि शीर्ष ६ को सम्भावना अन्तिम खेलमा निर्भर बनेको छ।
नेपालले शीर्ष ६ मा पर्नका लागि अब आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानलाई अनिवार्य रूपमा पराजित गर्नुपर्नेछ।





