Wednesday, October 28, 2026

चक्रवात ‘अर्णव’को सम्भावित प्रभावः बारामा सतर्कता अपनाउन प्रशासनको आग्रह, (आपतकालीन नम्बरहरु सहित)

Advertisement
Advertisement

बारा, ११ कात्तिक। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’का कारण सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लावासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म हुन सक्ने वर्षा, बाढी, डुबान तथा पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरेको हो।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई आधार बनाउँदै प्रशासनले मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात र हिमआँधीको सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान र डुबान हुने तथा चुरे क्षेत्रमा पहिरो खसेर सडक र राजमार्ग अवरुद्ध हुन सक्ने जोखिम औँल्याइएको छ।

प्रशासनले किसानलाई कात्तिक ११ गते बुधबारभित्र पाकेको धानबाली तथा अन्य कृषि उपज सुरक्षित रूपमा भित्र्याउन आग्रह गरेको छ। नदी किनार, खोल्सा तथा चुरे फेदीका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गर्दै वर्षाको समयमा खोला तर्ने, माछा मार्ने, दाउरा संकलन गर्ने तथा नदीजन्य गतिविधि नगर्न सचेत गराइएको छ। त्यस्तै, अत्यावश्यक कामबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको अवस्था बुझेर मात्र अघि बढ्न भनिएको छ।

सम्भावित जोखिमबाट जोगिन पर्वतारोहण तथा ट्रेकिङमा नजान, गइसकेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न र बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ। औषधि, खाद्यान्न, पिउने पानी, टर्च, महत्वपूर्ण कागजात तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित राख्नसमेत अनुरोध गरिएको छ।

विपद् व्यवस्थापनका लागि जिल्लाका सबै स्थानीय तहलाई उद्धार तथा राहत टोली तयारी अवस्थामा राख्न र जोखिमयुक्त बस्तीका परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन भनिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीलाई आवश्यक सामग्रीसहित उच्च सतर्कतामा रहन तथा सडक अवरुद्ध हुन सक्ने सम्भावित स्थानमा एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।

प्रशासनले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनामा विश्वास नगर्न र आधिकारिक निकायबाट जारी सूचनामात्र पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। विपद्को अवस्थामा तत्काल सहयोग लिनका लागि निम्न सम्पर्क नम्बर उपलब्ध गराइएको छ।

आपत्कालीन सम्पर्क नम्बर

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), बारा: १२३४

नेपाल प्रहरी: १००

सशस्त्र प्रहरी बल, नेपाल: १११४

बाढीसम्बन्धी जानकारी (टोल फ्री): ११५५

सम्भावित जोखिम र क्षति न्यूनीकरणका लागि समयमै सतर्कता अपनाउन, आवश्यक पूर्वतयारी गर्न तथा विपद्को अवस्थामा एकअर्कालाई सहयोग र समन्वय गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर