बारा ,१९ कात्तिक। बाराको फेटा गाउँपालिकाले अस्पताल भवन उद्घाटनका क्रममा भएको दुःखद घटनामा घाइते भएका सबै व्यक्तिको उपचारमा लागेको सम्पूर्ण आवश्यक खर्च बेहोर्ने प्रतिबद्धता जनाएको छ।
गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले बिहीबार सार्वजनिक अपिल तथा प्रेस विज्ञप्ति जारी गर्दै गत कात्तिक १४ गते शनिबार गाउँपालिकामा आयोजित अस्पताल भवन उद्घाटन कार्यक्रमका क्रममा भएको अप्रिय घटनामा परी घाइते भएका आदित्य पासवानलगायत सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, घाइतेहरू तथा उनीहरूका परिवारजनप्रति गाउँपालिकाले हार्दिक सहानुभूति व्यक्त गरेको छ।
उक्त दुःखद घटनाका कारण गाउँपालिकावासीमा उत्पन्न असहज परिस्थिति, अशान्ति तथा जनमानसमा परेको असरप्रति गाउँपालिका अत्यन्त संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नागरिकको शान्ति सुरक्षा, सामाजिक सद्भाव र सहज रूपमा सार्वजनिक सेवा प्राप्त गर्ने अधिकारप्रति गाउँपालिका पूर्ण प्रतिबद्ध रहेको अध्यक्ष अंसारीले जनाएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन भइसकेको उल्लेख गर्दै गाउँपालिकाले समितिबाट निष्पक्ष र तथ्यपरक छानबिन हुने विश्वास व्यक्त गरेको छ।
घटनामा घाइते भएका व्यक्तिहरूको हालसम्म उपचारमा लागेको सम्पूर्ण आवश्यक खर्च गाउँपालिकाले बेहोर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यस्तै, घाइतेहरूको स्वास्थ्य अवस्थाअनुसार आगामी दिनमा आवश्यक पर्न सक्ने थप उपचार तथा अन्य स्वास्थ्य सेवाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायसँग आवश्यक सहयोग तथा व्यवस्थापन गरिदिन गाउँपालिकाले हार्दिक अनुरोध गरेको छ।
घटनापछि गाउँपालिकामा उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन गाउँपालिकाले सम्पूर्ण गाउँपालिकावासी, राजनीतिक दल, नागरिक समाज, युवा तथा सरोकारवालाहरूलाई संयमित रहन अपिल गरेको छ। सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि प्रकारका अफवाह र उत्तेजनाबाट टाढा रहन गाउँपालिकाले आग्रह गरेको हो।
त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारी नागरिकलाई प्रदान गरिने स्वास्थ्य, शिक्षा, प्रशासनिकलगायतका सार्वजनिक सेवाहरू नियमित र सहज रूपमा सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।
यस कठिन परिस्थितिमा धैर्य, संयम र सामाजिक सद्भाव कायम राख्दै गाउँपालिकालाई सामान्य अवस्थामा फर्काउन सबैको सकारात्मक सहयोग आवश्यक रहेको गाउँपालिका परिवारले जनाएको छ।
यसैबीच, गाउँपालिकाले शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण गाउँपालिकावासीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गरेको छ।




