कलैया, ०१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।
आज बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। समावेशी सिद्धान्त अनुसार खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम छनोट गरिएको छ।
प्रवक्ता झाका अनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइनेछ। यद्यपि, कुन क्लस्टरबाट को-को व्यक्ति परे भन्नेबारे रास्वपाले अहिले नै नाम सार्वजनिक गरेको छैन।
निर्वाचन आयोगले प्राप्त नामावली रुजु गरेर आधिकारिक रूपमा अनुमोदन गरेपछि मात्रै सांसदहरूको नामावली सार्वजनिक गरिने पार्टीले जनाएको छ।





