Thursday, June 4, 2026

‘मेयर र वडाध्यक्षको उम्मेदवार हुँ’ भन्दै नहिंड्न रास्वपा बाराको निर्देशन

टिकट वितरणबारे भ्रम फैलाउनेलाई कारबाहीको चेतावनी

spot_img

कलैया, ०९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाराले आगामी स्थानीय तहको निर्वाचनका लागि मेयर र वडाध्यक्षको उम्मेदवार हुँ भन्दै प्रचार नगर्न सचेत गराएको छ। पछिल्लो समय केही व्यक्तिहरूले आफूलाई मेयर वा वडाध्यक्षको उम्मेदवार घोषणा गर्दै हिँडेको र पार्टीको आधिकारिक टिकट पाएको भन्दै भ्रम फैलाएको पाइएपछि जिल्ला समितिले यस्तो स्पष्टीकरण दिएको हो ।

जिल्ला सभापति चन्दन कुमार स्वर्णकारद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “विगत केही समयदेखि पार्टीसँग आवद्ध वा अन्य केही व्यक्तिहरूले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विभिन्न वडा, पालिका र प्रदेश क्षेत्रहरूको टिकट वितरण भइरहेको वा बाँडफाँड गरिएको भन्ने भ्रमपूर्ण सूचनाहरू फैलाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

रास्वपाले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई ‘मेयर वा वडाध्यक्षको उम्मेदवार हुँ’ भन्दै नहिंड्न र त्यस्ता भ्रमपूर्ण गतिविधि नगर्न कडा निर्देशन दिएको छ । पार्टीको विधान बमोजिम उम्मेदवार चयनका लागि प्रारम्भिक निर्वाचन वा निश्चित विधि र प्रक्रियाहरू तय गरिएको स्मरण गराउँदै हालसम्म कुनै पनि तहको टिकट कसैलाई वितरण नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “पार्टीको विधान र पद्धति विपरीत आफू खुसी कसैलाई टिकट दिने आश्वासन दिने वा टिकट बाँडेको प्रमाण भेटिएमा त्यस्ता व्यक्तिहरूलाई (चाहे उनीहरू जुनसुकै तहको जिम्मेवारीमा किन नहुन्) पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गरी कडा भन्दा कडा कारबाही गरिनेछ ।”

साथै, रास्वपा बाराले पार्टीको साङ्गठनिक संरचनामा फोहोरी राजनीति गरी भाँडभैलो गर्न खोज्ने अराजक तत्वहरूलाई समेत सचेत गराएको छ । पार्टीको छवि धमिलो बनाउन खोज्नेहरू विरुद्ध चुप लागेर नबस्ने चेतावनी दिँदै आधिकारिक माध्यमबाट आउने सूचनालाई मात्र विश्वास गर्न बाराबासी र पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर