बारा, २७ कात्तिक । सरकारले छठ पर्वको अवसरमा कात्तिक २९ गते आइतबारका दिन सार्वजनिक बिदा दिएकोमा त्यसको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै यसअघि नै कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।
छैठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रहेकाले व्रतालुहरूको सहजतालाई मध्यनजर गर्दै पर्वको भोलिपल्ट अर्थात् मिति २०८३/०७/३० गते सोमबारका दिन समेत देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।




