बारा, २७ कात्तिक । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको गम्भीर सडक दुर्घटनामा परी ज्यान गुमाएका नागरिकका परिवारलाई राहत स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक राहत प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिएका छन्।
साथै, बैठकले दुर्घटनामा परी घाइते भएकाहरूको प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।




