Saturday, October 10, 2026

दुई जलविद्युत् आयोजनाका लागि २१ अर्बभन्दा बढी लगानी स्वीकृत

Advertisement
Advertisement

काठमाडौं, २३ असोज। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका सम्बन्धमा पनि परियोजना विकास सम्झौता (पीडीए) मा भएको प्रावधानअनुसार तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ।

स्वीकृत परियोजनाहरूको प्रभावकारी कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बोर्डले आफूले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अघि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।

त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्तावलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्ता परियोजनाले नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा पुर्‍याउने योगदानलाई समेत आधार मानेर परियोजना विकासलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलगायत बोर्डका सदस्य तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर