काठमाडौं, २४ असोज। चाडपर्व नजिकिएसँगै चोरी, ठगी, दुर्घटना तथा अन्य आपराधिक घटना हुनसक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
चाडपर्वको समयमा घर तथा बजारमा मानिसको चहलपहल बढ्ने भएकाले आपराधिक गतिविधिको जोखिमसमेत बढ्न सक्ने भन्दै प्रहरीले घरबाट बाहिर निस्कँदा तथा भीडभाडमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रहरीका अनुसार घर छाडेर बाहिर जानुपरेमा झ्याल, ढोका तथा गेट राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकी वा आफन्तलाई जानकारी गराउनुपर्नेछ। त्यस्तै, भीडभाड हुने बजार, मेला तथा सार्वजनिक स्थानमा बहुमूल्य गरगहना तथा ठूलो रकम बोकेर नजान र आफ्नो सामानको विशेष निगरानी गर्न आग्रह गरिएको छ।
अनलाइन ठगीबाट बच्न चाडपर्वका नाममा आउने शंकास्पद लिंक, QR कोड, उपहार तथा आकर्षक अनलाइन अफरमा विश्वास नगर्न पनि प्रहरीले सचेत गराएको छ। आफ्नो OTP, PIN, Password तथा बैंकिङ विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरिएको छ।
यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा तथा पेय पदार्थ नखान, कानूनले प्रतिबन्ध गरेका जुवा तथा अन्य खेलमा सहभागी नहुन र टोल–छिमेकमा कुनै अपरिचित व्यक्तिले शंकास्पद गतिविधि गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न भनिएको छ।
त्यस्तै, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी नचलाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गर्न तथा चाडपर्वका नाममा विस्फोटक पदार्थको ओसारपसार र प्रयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ।
चाडपर्वका बेला बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन, भीडभाडमा उनीहरूलाई एक्लै नछाड्न, सार्वजनिक स्थानमा मोबाइल, पर्स, झोला तथा महत्वपूर्ण कागजात सुरक्षित राख्न र सामाजिक सञ्जालमा घर लामो समय खाली रहनेजस्ता सूचना सार्वजनिक नगर्न पनि सुझाव दिइएको छ।
प्रहरीले घरमा दियो, बत्ती, धूप, ग्यास तथा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन र घरबाट बाहिर निस्कँदा ग्यास तथा अनावश्यक विद्युतीय उपकरण बन्द भए/नभएको सुनिश्चित गर्न आग्रह गरेको छ।
कुनै चोरी, ठगी, दुर्घटना, शंकास्पद गतिविधि वा अन्य आपत्कालीन अवस्था आएमा तत्काल प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न सकिनेछ।






