काठमाडौं, २४ असोज। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा भारी मतान्तरसहित सभापतिमा विजयी भएका हुन्।
निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे।
कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको थियो। खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गर्दा खड्गीले ५.३५ प्रतिशत मत पाएका छन्। बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ।
थापाले आफ्ना प्रतिस्पर्धी खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय रहँदै आएका थिए। तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना तथा नेतृत्वलाई लिएर बहससमेत भएको थियो। त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापा औपचारिक रूपमा कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्।






