बारा, २४ असोज। बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
सिम्रौनगढ नगरपालिका–९ बसवरीयास्थित नहर सडकखण्डमा सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको बिआर ०५ ऐएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा साइकलको पछाडि सवार सिम्रौनगढ नगरपालिका–६ निवासी सबु मोहम्मदकी श्रीमती अन्दाजी ३७ वर्षीया रिजवाना खातुन गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा साइकल चालक सिम्रौनगढ–६ का अन्दाजी ४० वर्षीय सबु मोहम्मद घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ–६ निवासी बिगु महतोका छोरा अन्दाजी २५ वर्षीय अजय महतो र मोटरसाइकलमा सवार सोही स्थानका अन्दाजी २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अजयलाई प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि थप उपचारका लागि राति ७ः५० बजे नारायणी न्युरो अस्पताल वीरगन्ज रिफर गरिएको छ। विवेकलाई पनि प्राथमिक उपचारपछि थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वा, बाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






