बारा, २४ असोज। जिल्ला निर्वाचन कार्यालय बाराले जिल्लामा मृत्यु भएका ३ सय ३६ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ।
जिल्लाका विभिन्न स्थानीय तहका वडा कार्यालयबाट प्राप्त मृत्यु दर्तासम्बन्धी विवरणका आधारमा ती मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।
कार्यालयले गत २०८३ असार २६ गते जिल्लाका सम्पूर्ण स्थानीय तहलाई पत्राचार गर्दै मृत्यु दर्ता भएका मतदाताको विवरण माग गरेको थियो। स्थानीय तहका विभिन्न वडाबाट रीतपूर्वक प्राप्त विवरणका आधारमा ३ सय ३६ जना मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको हो।
जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले भूलवश कुनै जीवित मतदाताको नामसमेत हटाइएको भए सम्बन्धित मतदाता वा निजको एकाघरका सदस्यलाई आवश्यक प्रमाणसहित यथाशीघ्र जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।
कार्यालयले मतदाता नामावलीलाई अद्यावधिक तथा त्रुटिरहित बनाउन मृत्यु भएका व्यक्तिको नाम हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ।






